क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य धनगढीमा सुरु भएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडक बिहीबार शिलान्यास गरेसँगै परियोजनाअन्तर्गत सडक निर्माणको काम अगाडि बढेको हो।

धनगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यक्रमका रुपमा यो परियोजनालाई लिइएको छ। धनगढीका बाहिरी सडकहरु विस्तार तथा कालोपत्रे भइसक्दा पनि क्षेत्रीय सहरी विकास परियोजनाको पर्खाइमा मुख्य बजार क्षेत्रका सडक विस्तार गर्न सकिएको थिएन। एसियाली विकास बैंकको सहयोगमा संचालन भइरहेको क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि सन् २०१५ मा सम्झौता भएको थियो।

सम्झौता भएको लामो समय हुँदा पनि सडक निर्माणको काम अगाडि बढ्न सकेको थिएन। सन् २०१५ मा छुट्याइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए। पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको उनले जानकारी दिए।

नगरप्रमुख वडले भने, ‘अब चाँडै दोश्रो चरणका सडक निर्माणका लागि टेन्डर हुँदैछ। पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपैयाँको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ।’  पहिलो चरणमा ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले ७ वटा सडक निर्माण गर्नेछ । जस अन्तर्गत गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलाली नाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी–खुटीया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर) र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) छन्।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासका लागि नगरवासीले हातेमालो गर्नुपर्ने बताईन्। उनले भनिन्, ‘ठूलो आयोजना हो, कार्यान्वयनमा सबैले सहयोग गरौं।’ क्षेत्रीय सहरी विकास आयोजना उप–ब्यबस्थापक श्यामचन्द्र बुढाथोकीले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहेको बताए।

प्रतिक्रिया दिनुस