प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा बैतडीले विजयी शुरुवात गरेको छ। महेन्द्रनगर कर्वडहलमा मंगलबार भएको खेलमा बझाङलाई ७ विकेटले स्तब्ध पार्दै बैतडीले विजयी शुरुवात गरेको हो। बझाङले दिएको १५१ रनको लक्ष्य बैतडीले १९ दशमलव ४ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।

बैतडीका लागि विरेन्द्र नाथले अविजित ४० रनको योगदान गरे । यस्तै डम्बर बुडाल र गजेन्द्र बोहराले पनि पनि समान ३०÷३० रन जोडे । बझाङका लागि गोविन्द विष्टले २ विकेट हात पारे । त्यसअघि कञ्चनपुरस्थित कभर्डहल मैदानमा पहिला ब्याटिङ गरेको बझाङ १५० रनमा समेटिएको थियो । उसका लागि दिनेश ओडले सर्वाधिक ३५ रनको योगदान गरे । बैतडीका लागि खडक बोहराले ५ विकेट हात पारे । उनी म्यान अफ द म्याच समेत चुनिए ।

यस्तै अर्को खेलमा कैलालीले दार्चुलालाई ११७ रनले पराजित गरेको छ । कैलालीले दिएको १६२ रनको लक्ष्य पन्छाएको दार्चुला ४४ रनमा अलआउट भयो । दार्चुलाका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कैलालीका शेर मल्लले सर्वाधिक ३ विकेट झारे । यसअघि खुलामञ्च खेलमैदानमा पहिला ब्याटिङ गरेको कैलाली २९ दशमलव १ ओभरमा १६१ रनमा समेटियो । उसका लागि दीपेन्द्र थापाले ४२ तथा वशन्त कार्कीले ३९ रन हिर्काए । दार्चुलाका लागि राज बम, विपिन धामी, करन डडाल, जनक बडाल र विरेन्द्र बमले समान २÷२ विकेट लिए ।

कैलालीका दीपेन्द्र थापा म्यान अफ द म्याच भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। प्रतियोगिता अन्र्तगत बुधवार कभर्डहल मैदानमा बैतडी र दार्चुला भिड्दा, खुलामञ्च मैदानमा अर्को खेलमा बझाङ र कैलालीबिच प्रतिस्प्रर्धा हुने भएको छ। मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ ।

महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस