प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्र्तगत फाइनल प्रवेशका लागि कैलाली र बैतडी बिचको खेल सुरु भएको छ। महेन्द्रनगरस्थित कभर्डहल खेलमैदान यी दुई टोलीबिचको भिडन्त बिहान ९ बजेदेखी सुरु भएको हो। दुबैटोलीले समान २÷२ खेल जितेकाले आजको खेल जित्ने टोली सोझै फाइनल प्रवेश गर्ने स्कोरर निरञ्जन बोहराले बताए। यसअघि हिजो बैतडीले दार्चुलालाई ९८ रनले पाखा लगाउदै दोस्रो जित दर्ता गरेको थियो।

यस्तै बझाङलाई ६८ रनले हराउदै कैलालीले पनि दोस्रो खेलमा विजयी भएको थियो। बैतडी र कैलालीमध्ये बिजेताले अछामसंग प्रतिस्प्रर्धा गर्नेछ। अछाम यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल भिडन्त शुक्रबार हुने जनाईएको छ। यसैबिच खुलामञ्च मैदानमा बझाङ र दार्चुला प्रतिस्प्रर्धा गर्नेछन्। यी दुबैटोलीले यसअघि २÷२ खेल हारेकाले प्रतियोगिताबाटै बाहिरिसकेका छन्।

गत मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ। उक्त प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यही पुस ११ गतेबाट हुदैंछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस