नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद मत्थर बनेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुईबुँदे सहमतिपछि सहमतिबाटै स्थायी कमिटीको अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ। त्यस अवधिमा दुई अध्यक्षका प्रस्तावका ठाउँमा सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यसमेत गरिने भएको छ।

अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार संवैधानिक परिषद् संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशन बोलाइपाऊँ भनी राष्ट्रपति कार्यालयमा बुझाउन लगिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति भएको छ । अध्यक्ष दाहालको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भए पनि स्थायी कमिटीको अर्को बैठकअगावै सहमतिका लागि आवश्यक गृहकार्य गरिने सहमति भएको नेता नेम्वाङले बताए।

उहाँले पार्टीको सुदृढ एकताका लागि सकारात्मक आधार तयार भएको र यसकै आधारमा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न सकिने बताए। उता कार्यकारी अध्यक्ष दाहालको सचिवालयले अध्यक्षद्वयबीच सरकारद्वारा ल्याइएको अध्यादेश र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्ने सहमति मात्र भएको स्पष्ट पारेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अर्को बैठक पुस ५ का लागि तय गरेको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

संवैधानिक परिषद्को बैठकमा कहिले प्रमुख प्रतिपक्षी दलका नेता त कहिले सभामुखको अनुपस्थितिले लामो समयदेखि संवैधानिक आयोगमा नियुक्ति हुन सकेको छैन । संवैधानिक आयोगको नियुक्तिलाई सहज बनाउने हिसाबले अध्यादेश ल्याउन बाध्य भएको सरकारको दाबी छ । सोही क्रममा सरकारले मङ्गलबार अध्यादेश जारी गर्न सिफारिस गरेपछि नेकपाभित्र थप विवाद भएको हो । सोही क्रममा बुधबार संसद् अधिवेशनको मागसहित नेकपाका केही सांसद राष्ट्रपतिकहाँ पुगेपछि परिस्थिति अझ गम्भीर बनेको थियो । संसद् अधिवेशनको मागसहित सांसदहरूको हस्ताक्षर लिएर नेता भीम रावल र पम्फा भुसाल दिउँसो १ बजेतिर राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।

यसरी जुट्यो सहमति

नेकपाको स्थायी कमिटी बैठक बुधबार १ बजेका लागि बोलाइएको थियो । संवैधानिक आयोगको व्यवस्थासम्बन्धी मङ्गलबार जारी अध्यादेशले पार्टीभित्र र बाहिर अनेक खालका शङ्का र प्रतिक्रिया जन्माएको थियो । अध्यादेशलाई ‘काउन्टर’ गर्ने गरी नेता रावल र पम्फा भुसाल अधिवेशनको मागसहित राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले “दलको नेता म हुँ, मलाई नै थाहा नदिई अधिवेशन माग गर्न पुग्नुभएछ ?” भन्दै नेता रावललाई प्रश्न गर्नुभएको थियो ।

त्यति नै बेला अध्यक्षद्वय बालुवाटारमा छलफलका लागि बस्नुभए पनि कुनै सहमति जुट्न सकेन । त्यसपछि दोस्रो तहका तीन नेता सुवास नेम्वाङ, शङ्कर पोखरेल र घनश्याम भुसालसहित अध्यक्षद्वय छलफलमा बस्नुभएको थियो ।
करिब दुई घण्टा चलेको सोही छलफलमा अध्यादेश र समावेदन फिर्ता लिने अनि राजनीतिक प्रस्तावमा थप गृहकार्य गरी स्थायी कमिटी बैठकमा लैजाने सहमति जुटेको थियो । राजनीतिक प्रस्ताव फिर्ता लिने विषयमा छलफल भए पनि त्यसलाई थप गृहकार्यबाटै टुङ्गोमा पु¥याउने गरी दुईबुँदे सहमतिसहित स्थायी कमिटी बैठकमा दुवै अध्यक्ष प्रवेश गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले लामो समयदेखि संवैधानिक आयोगमा रिक्तता रहेको चर्चा गर्नुहुँदै अध्यादेश ल्याउनुका कारणबारे स्पष्ट पार्नुभएको थियो । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले बोल्नुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेश र संसद्का लागि समावेदन गर्ने विषय फिर्ता गनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

त्यस्तै स्थायी कमिटीमा प्रस्तुत दुई राजनीतिक प्रतिवेदनका विषयमा सहमतिसाथ अगाडि बढ्न गृहकार्य आवश्यक भएकाले पुस ५ का लागि अर्को बैठक राख्ने निर्णय भएको जनाइएको छ । नेता गजुरेलले भने, “योभन्दा अर्को विकल्प नै थिएन, छैन । सहमतिको प्रस्तावभन्दा बाहिर गएर, बहकिएर फाइदा छैन । ”

प्रतिक्रिया दिनुस