सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका कक्षा अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयले आगामी कक्षा अनलाइन मार्फत सञ्चालन गरिने जनाएको हो।
विश्वविद्यालयका प्रिन्सिपल डा. भूपेन्द्र सिह विष्टले व्यवस्थापन संकाय र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरुको कक्षा अनलाइन बाट सञ्चालन गरिने कालापानी खबर लाई जानकारी दिए।
यस अघि अनलाइनमार्फत नै परीक्षा लिएको विश्वविद्यालयले अन्तिम चरणका विविएस द्धितीय र प्रथम वर्षका परीक्षा यही पुस प्रथम साता देखी लिइने जनाएको छ। प्रिन्सिपल विष्टले बाँकी अनलाइन परीक्षा पनि सफलता पूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।
उनले भने,–‘व्यवस्थापन सँकायले अनलाइन कक्षाका लागी सूचना निकाल्न बाँकी छ, मानविकी तथा समाजशास्त्र सङ्कायले भने आगामी ६ गते देखी अनलाइन मार्फत कक्षा सुचारु गर्ने सूचना पनि सार्वजनिक गरिसक्यो।’
यस अघि अनलाइन कक्षामा सहभागी विद्यार्थी।
व्यवस्थापन संकायका विभागीय प्रमुख शंकर भट्टले आइतबार सम्म अनलाइन कक्षाको सूचना निकालिने जानकारी दिए।
तर, इन्जीनियरीङ र विज्ञान सङ्कायले भने आगामी कक्षा भौतिक रूपमै उपस्थित गराएर सञ्चालन गर्ने कि अनलाइन मार्फत भन्ने टुङ्गो लगाउन बाँकी रहेको प्रिन्सिपल विष्टले बताए।
यस अघि विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाका प्रमुख गोबिन्दबल्भ पन्तले कोरोना महामारीका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित हुँदै गइरहेको भन्दै उपयुक्त माध्यम छनौट गरी कक्षा सुचारु गर्न विभागहरूलाई पत्राचार गरेका थिए।
प्रतिक्रिया दिनुस