सुदूरपश्चिममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा २ सय नमूना परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४ जनाको नमूना परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९२ जनाको नमूना परीक्षण गर्दा १५ जना, डडेल्धुरा अस्पतालमा ३८ नमूना परीक्षण गर्दा १३ जना, जिल्ला अस्पताल बैतडीमा १५ नमूना परीक्षण गर्दा ४ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा ५९ जनाको नमूना गर्दा ३ जनामा संक्रमण पुस्टि भएको कार्कीले बताए। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका १२ सहित सुदूरपश्चिमका थप १५ जनामा संक्रमण पुस्टि भएको बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका थप ११ जनामा संक्रमण देखिएको छ।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १ जना, कञ्चनपुर, बझाङ र बाजुराका १र१ जनामा समेत संक्रमण पुस्टि भएको उनले बताए।

उता डडेल्धुरा अस्पतालमा ३८ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।जिल्लाको अमरगढी नगरपालिकाका ४ जना, गन्यापधुरा गाउँपालिकाका २ जना, भागेश्वर गाउँपालिकाका २ जना, दार्चुलाका ४ जना र बैतडीका १ जनामा संक्रमण पुस्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए।

यस्तै अछामको कमलबजार प्रयोगशालामा ५९ नमूना परीक्षण गर्दा बान्नीगढी जयगढ गाउँपालिकाका २ जना र मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण देखिएको सूचना अधिकारी टेकबहादुर बिष्टले बताए।यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ९७ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ५ सय ८५ जनाले कोरोना जितेका छन् भने ७० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुस