बैतडीमा यो बर्ष १८ ओटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय  सामाजिक विकास कार्यालय मार्फत १० ओटै स्थानीय तहका विभिन्न विद्यालयमा ४ काठे र २ कोठे भवन निर्माण हुने भएका हुन्। सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीका अनुसार चालु आर्थिक बर्षका ९ ओटा चारकोठे, ९ ओटा दुई कोठे, एक पुस्तकालय भवन, ५ घेरबार, २ छात्रा शौचालय, ५ सूचना प्रविधि केन्द्र भवन र एक विद्यालय भवनको मर्मत गरिने छ।

नयाँ भवन निर्माणका लागि सम्बन्धित विद्यालयहरुसंग सम्झौता गरेर काम शुरु गरिसकेको जोशीले जानकारी दिए। ४ कोठे भवनका लागि ४० लाख, २ कोठे भवनका लागि २० लाख, पुस्तकालय भवन निर्माणका लागि २० लाखका दरले बजेट विनियोजन भएको उनले बताए।
यस्तै घेरबार, छात्रा शौचालय निर्माण, मर्मत सम्भार र सूचना प्रविधि केन्द्र भवन निर्माणका लागि ५ लाखका दरले बजेट आएको उनले जानकारी दिए । चारकोठे नयाँ भवन अन्तर्गत सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २÷२, डिलाशैनी, शिवनाथ,सिगास, पाटन र पुर्चौंडीमा १÷१ भवन बन्नेछन् ।
यस्तै दुईकोठे नयाँ भवन अन्तर्गत मेलौलीमा २, पुर्चौंडीमा २, सुर्नयामा २, पञ्चेश्वर,डिलाशैनी र सिगासमा १÷१ भवन बन्ने छन् । यसैगरी २० लाखको लागतमा पाटनको उदयदेव मावि किम्तोलीमा पुस्तकालय भवन निर्माण हुनेछ भने दोगडाकेदार गाउँपालिकामा ३, डिलाशैनी र पाटनमा १÷१ ओटा सूचना प्रविधि केन्द्र भवन निर्माण हुने सामाजिक विकास कार्यालयले जनाएको छ । यस्तै विद्यालयको घेरबार तर्फ दोगडाकेदार, दशरथचन्द नगरपालिका, सिगास, मेलौली र पुर्चौंडीका १÷१ ओटा विद्यालय छनौट भएका छन् ।

प्रतिक्रिया दिनुस