बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति अपनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको हो। समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिइन्।

सम्झौता पत्रमा पुजारी र पुरोहितहरुले बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा जन्मदर्ता अनिवार्य रुपमा माग गरी २० वर्ष उमेर पुगेको हकमा मात्र विवाह गराउने, बालविवाह भएको जानकारी पाए यथाशीघ्र जिम्मेवार निकायमा जानकारी गराउने र सम्झौता उल्लंघन गरेमा कानून बमोजिम सजायको भागिदार हुने उल्लेख भएको उनले जानकारी दिइन्।

‘बिगतदेखिका जनचेतना फैलाउने अभ्यासहरुले केही हदसम्म बालविवाह न्यून भए पनि सन्तोषजनक नतिजा आउन सकेन, उपप्रमुख रेग्मीले भनिन्, ‘हिन्दु धर्म अनुसार विवाह गराउन ब्राह्मण अनिवार्य भएको हुँदा, हाम्रो नगरपालिका अन्तर्गतका मुख्य पुजारी र पुरोहित बाजेहरुलाई बालविवाह न्यूनीकरणको अभियानका सहयात्री बनाउने प्रयास गरिएको हो।’बाल विवाह हुनुका कारण जनचेतनाको कमी मात्र नभएर गरिबी, शिक्षामा सहज पहुँच नहुनु जस्ता तमाम पक्षहरु रहेका रेग्मीको भनाइ छ।

प्रतिक्रिया दिनुस