बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। धनगढीबाट बझाङ तर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जनपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका ९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। चालक नरेन्द्र महराको दुवै खुट्टा भाँचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ।
घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिसकिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए।
प्रतिक्रिया दिनुस