भारत उत्तर प्रदेशमा एक मसान घाटमा छत खस्दा २३ मलामीको मृत्यु भएको छ। आइतबार बिहान उत्तर प्रदेश गाजियावाद जिल्लाको मुरादनगरमा रहेको एक मसानघाटमा दुर्घटना भएको हो। घटनामा परी १५ जना घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। त्यस मसानघाटमा मलामीहरूको सुविधाका लागि भन्दै पक्की छत निर्माण गर्न लागिएको थियो।

जी टिभीले दिएको खबर अनुसार शनिबार मात्रै छतमा ढनाल हालिएको थियो। रामधन नामका व्यक्तिको अन्तिम संस्कारका लागि व्यक्तिहरु मसानघाटमा पुगेका थिए। एक्कासी छत झर्दा च्यापिएर २३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ। जि टीभीले दिएको खबर अनुसार वर्षा भएपछि मलामीहरू छतको मुनि ओत लागेका थिए।

छलमा धेरै पानी जम्मा भएपछि एक्कासी छत खसेको हो। एक निजी कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो। निर्माणमा निम्न गुणस्तरको सामग्री प्रयोग भएकाले घटना भएको स्थानीयले बताएका छन्। घटना भएपछि निर्माण कम्पनीका व्यक्तिहरु फरार भएका छन्। मुख्यमन्त्री आदित्य नाथले घटनाको जाँच गरी तत्काल रिपोर्ट पेस गर्न निर्देशन दिएका छन्। मृतकका परिवारलाई २–२ लाख सहायता दिने घोषणा गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुस