सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।
सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले बताए । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताए ।
घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट ३० हजार, डोटीको दिपायलबाट १० हजार र झिङ्ग्रानाबाट आठ हजारमा खप्तड घुम्न पाइने भएको छ । कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ ।
खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले बताए । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन् । रासस