महेन्द्रनगरमा मुक्त हलिया महिलालाई सीपमूलक तालिम उपलब्ध गराइएको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको संयुक्त साझेदारीमा आर्थिक रुपमा विपन्न मुक्त हलियाका महिलाहरुलाई तालिम दिएको हो। भीमदत्त नगरपालिका–१९ बागफाँटाका मुक्त हलियाका महिलालाई ४५ दिने हाते होजियारी तालिम प्रदान गरिएको छ।
२० जना महिलालाई स्विटर, टोपीलगायत बुन्ने सीप सिकेका छन्। महिलाहरुको सीप परीक्षण गरी सिटिइभिटीबाट प्रमाणपत्र समेत उपलव्ध गराइने भएको छ। तालिम पाएर दक्ष बनेका ललिता लोहारले पूँजीको व्यवस्था गरी होजियारी घरेलु उद्यममा संलग्न हुने बताइन्। राष्ट्रिय मुक्त हलिया समाज नेपाल महासंघका अध्यक्ष ईश्वर सुनारले मुक्त हलियाका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताए। मुक्त हलिया परिवारलाई पुनर्स्थापनसँगै रोजगारसँग जोडेर जीविकोपार्जनका लागि पहल हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुस