अत्यावश्यक कामका लागि बैतडीसँग जोडिएको झुलाघाट नाका सातामा दुई दिन खुला रहने भएको छ। कोरोना भाइरसको जोखिमका कारण सरकारले सिमाक्षेत्रमा प्रतिबन्ध लगाएको थियो। चैतदेखि बन्द रहेको बैतडीसँग जोडिएको झुला घाट नाका केही खुकुलो बनाइएको हो।
स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमा नाकामा अत्यावश्यक काम परेकाहरूलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। अत्यावश्यक काम परेकाहरूका लागि सोमबार र शुक्रवार हप्ताको दुई दिन नाकामा आवतजावत गर्न दिइएको उनले बताए।
कामको प्रकृति सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र जिल्ला प्रशासनको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत गर्न दिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। नेपाल सरकारका तर्फबाट नाका केही खुकुलो बनाउने परिपत्र भए पनि पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएकाले सतर्कता अपनाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने बताइएको छ।
प्रतिक्रिया दिनुस