प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (भोलि) धनगढी आउने भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्। बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ।

उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ। भोलीको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। त्यस्तै उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको समेत सल्लाहकार थापाले बताए।

पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ। प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको जानकारी दिए। प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ। स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ।

प्रतिक्रिया दिनुस