बैतडीको शिवनाथ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरण शुरु गरेको छ। गाउँपालिकाले पहिलोपटक परिचयपत्र बितरणको काम शुरु गरेको हो। हालसम्म ४ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको शिवनाथ गाउँपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता भण्डारी (कुँवर)ले जानकारी दिए।

यसअघि महिला बालबालिका कार्यालयबाट परिचयपत्र बितरण हुने गरेकोमा देश संघीय संरचनामा गइसकेकोपछि स्थानीय तहबाट परिचयपत्र बितरण गरिन लागिएको थियो । तर शिवनाथ गाउँपालिकामा यसअघि महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखामा कर्मचारी नहुँदा परिचयपत्र बितरण गर्न सकिएको थिएन् ।

यसका साथै उपाध्यक्षको संयोजकत्वमा अपांगता परिचयपत्र बितरण समिति पनि गठन हुन सकेको थिएन् । हाल उक्त शाखाका कर्मचारी आएका र समिति पनि गठन भएपछि परिचयपत्र बितरण कार्य शुरु गरिएको हो । प्रमुख कुँवरले आफू आएपछि अपाङ्गता परिचयपत्र बितरण गर्ने तयारी गरेको भएपनि कोरोना कहरले गर्दा रोकिएकोमा हाल शुरु गरिएको बताए। अपाङ्गता भएका व्यक्ति राज्यबाट पाउने सेवासुविधाबाट बञ्चित नहोउन भनेर परिचयपत्र बितरण गरिन लागिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।

यसैबिच अपाङ्गता परिचयपत्र बितरणको काम शुरु गरिएको भएपनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन निकै समस्या भोग्नुपरेको छ । अपाङ्गता हो वा होइन, कुन वर्गमा पर्छ भनेर डाक्टरको सिफारिस चाहिँने भएपनि गाउँपालिकामा डाक्टर नहुँदा समस्या भएको हो । उक्त सिफारिस बनाउन अपाङ्गता भएका व्यक्तिले जिल्ला सदरमुकाम पुग्नुपर्ने, सदरमुकाम पुग्न १ दिन पुरै लाग्ने गरेकोले समस्या भएको हो ।

सदरमुकाम टाढा भएर सदरमुकाम धेरैले जान नपाएकोले उनीहरुले अपाङ्गता भएपनि परिचयपत्र पाउन नसकेका हुन् । उनीहरुले सिफारिसका लागि स्थानीयस्तरमै डाक्टर उपलब्ध गराउन गाउँपालिकालाई गरेका छन् । यता शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले भने डाक्टर ल्याउनका लागि पहल भइरहेको बताइन। उनले भनिन्“कोरोना कहरले गर्दा डाक्टर आउन नमानेकोले समस्या भएको छ, घुम्ती शिविर चलाएरै पनि डाक्टर ल्याउने तयारी छ ।”

प्रतिक्रिया दिनुस