प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा धनगढी आउँदै छन्।  बिहान ८ बजे श्री एअरलाइन्सको जहाजबाट आउने भनिए पनि प्रतिकुल मौसमका कारण उनी आउने जहाजको उडान ढिला भएको हो।

अहिले धनगढीमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। भिजिबिलिटी कम भएकाले विमानस्थल खुलेको छैन। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पाटीको आमसभाको भने तयारी पूरा भएको छ। नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले प्रधानमन्त्रीको सम्बोधनका लागि तयारी पूरा भएको जनाएको छ। धनगढीको खुलामञ्च हुने आमसभालाई प्रधानमन्त्री ओलीले दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ। खुलामञ्चमा कार्यक्रमका लागि सूर्य चिन्हसहितका झण्डा फहराइएका छन् भने बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाका सबै सुरक्षा संयन्त्र खटिएका छन्। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित परिचालन गरी एकीकृत सुरक्षा योजना अनुरूप व्यवस्था गरिएको बताए। अहिले धनगढी विमानस्थलमा नेपाली सेना र तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको छ। विमानस्थलदेखि धनगढी बजारका हरेक चोकमा प्रहरी खटाइएको छ।

प्रतिक्रिया दिनुस