धनदेव जोशी
बैतडी :
नेपाल बहुधार्मिक,बहुजातीय लगायत बहुसाँस्कृतिक राष्ट्रको रुपमा चिनिन्छ ।धार्मिक विविधतालाई अँगाल्ने यो मुलुक १२५ भन्दा बढी जातजातिको फुलबारी बनेको छ ।
विश्वको सर्वोच्च शिखर हिमालयदेखि पहाड हुँदै तराईको समथर भूभागसम्म फैलिएका अनेकन संस्कृतिले कसको मन लोभ्याउदैन र!विगतमा हिन्दु राष्ट्र रहेको नेपाल पछिल्लो केही समय यता धार्मिक स्वतन्त्रता भएको राष्ट्रको रुपमा छ तापनि बाहुल्यता ॐ कार परिवारकै देखिन्छ ।सनातन धर्म भनी चिनिने यस परिवारभित्र पनि दार्शनिक एवम् सांस्कृतिक विविधता देखिन्छ ।एउटै तिथि मितिमा पर्ने चाडपर्वलाई विभिन्न किसिमले मनाइने गरिन्छ ।यस्तै चाडपर्व मध्येको एक हो – नरहरि अर्थात माघेसंक्रान्ती
हिन्दु धर्म शास्त्रको ज्योतिषी गणित अनुसार विक्रमीयका १२ महिनालाई ४ ओटा रीतु अनि १२ ओटा मसान्त र १२ ओटा संक्रान्तीमा वर्गीकरण गरिएको पाईन्छ ।बैशाख संक्रान्तीबाट सुरु भएका वर्षका दिन क्रमशः विभिन्न मसान्त र संक्रान्ती हुँदै चैत मसान्तमा पुगी अन्त्य हुन्छन् ।माघेसंक्रान्तीलाई माघ महिनाको पहिलो दिन मानिन्छ।यस दिनलाई थारू समुदायले ‘माघी’भनेर मनाउँछन।नेवार समुदायमा पनि घ्यू,चाकु लगायतका तेलहनयुक्त खानेकुरा खाने दिनका नामले यस पर्वलाई मनाउँछ्न।
मगर समुदायमा ‘तारो हान्ने’खेल गरिने यस दिनमा चेलीबेटी र पितृहरुको पूजा गरिन्छ।माघ १ गतेकै दिनलाई किराँत समुदायले काठमाडौ उपत्यका विजय हासल गरेको उत्सवका रुपमा मान्नुका साथै नयाँ संवतका रुपमा पनि मान्दछन।
मध्य पश्चिमाञ्चलतिर पनि यश पर्वलाई अति महत्वपूर्ण पर्वका रुपमा हेर्ने गरिन्छ।विशेष गरि पुसको अन्तिम दिन तरुल,गीठा,पिँडालु उसिनेर राखिन्छ।यसका साथै फापरको पिठोबाट फुरौला नामक साना साना रोटी बनाइ भोलिपल्ट नित्यकर्म सकाइ पुसमा बनेका ती परिकारहरु माघमा खाने गरिन्छ।नजिकका तीर्थ स्थलमा गई नुहाइ धुवाइ गरेमा पवित्र भइने जनधारणा व्याप्त रहेको पाइन्छ। स्थान एवम् जातजाति विशेषमा फरक फरक ढंगले मनाइने यस दिनलाई सुदुर पश्चिमको पहाडी भेगतिर नरहरी भनेर मनाइन्छ ।
‘नर’ भनेको मानिस र ‘हरि’भनेको भगवान अर्थात भगवानमा लिन हुनु भन्ने शाब्दिक अर्थ आउँछ।वास्तवमा भन्ने हो भने नरहरी पुस मसान्तबाट नै सुरु हुन्छ।पुस मसान्तको दिन बन तरुल ल्याइन्छ र असिनेर खाइन्छ साथै त्यही साँझ चामलको पिठोबाट बनेका मिठा मिठा परिकार बनाएर खाने चलन छ।पाकेका मध्ये पहिलो परिकारलाई कागको लागि भनेर छुट्याइन्छ र परिवारका सदस्य,आफन्तजन,मित्रगणहरु सामुहिक रुपमा बसेर भोजन गर्छ्न।खाइसकेपछि इतिहासका ती काल खण्डका बारेमा चर्चा हुन्छ,जहाँबाट आज हामी यहाँसम्म आइपुगेका छौँ ।त्यसको दोस्रो दिन अर्थात माघ १ गतेका दिन सरोवरयुक्त तीर्थस्थलहरुमा गएर स्नान गर्छन र नजिकै बलिरहेको धुनी ताप्न अग्रसर हुन्छन।त्यहाँबाट आइसकेपछि अघिल्लो दिन बेलुका पकाएको ‘माणो’एवम् ‘झुनमुने’ (चामलका परिकार)लिएर आँगनमा आउछन् र “का कौवा का मेरो माणो खा”,” का कौवा का मेरो झुनमुने खा” भनी कागलाई बोलाउँदै परिकार खान दिन्छन् ।
काग तिहारका अतिरिक्त नरहरिका दिन पनि कागलाई पूजा गरिन्छ।धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देश वाहकका रुपमा लिइन्छ।कागले नै जन्म-मृत्युको विवरण लैजाने र ल्याउने काम गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ।यस दिनमा काग पनि विभिन्न तीर्थाटन गरि फर्केको हुन्छ भन्ने विश्वास गरिन्छ।काग सबैलाई समान दृष्टिले हेर्ने तथा अत्यन्तै चलाख सर्वभक्षी प्राणीका रुपमा रहेको धार्मिक मान्यता छ।यसले सबै किसिमका फोहर र अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिने हुनाले सर्वगुणी पन्छिका रुपमा पनि लिइन्छ।नरहरिका दिन कागले लगेर लुकाएको रोटी ब्याउने गाईलाई खुवाए बाच्छा बाच्छी सप्रीने तथा कागलाई मिठा मिठा परिकार खुवाए पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ।
प्राचीन कालदेखी नै चल्दै आएका घटना परिघटनाहरुलाई पनि यस पर्वसँग जोड्ने गरिन्छ।महाभारतमा वर्णन भए अनुसार इच्छामृत्यु पाएका देवव्रत अर्थात भीष्मले यश दिनमा देह त्याग गरेको कुरा तथा चन्द्रगुप्तको चाणक्य नीतिमा उल्लेख गरिएको काग सम्बन्धी भनाइप्रती पनि विश्वास रहेको पाइन्छ।
अनिवार्य रुपमा सबैले स्नान गर्नुपर्ने चलन रहेको यस दिनमा पशुपन्छीलाई मिठा मिठा परिकार खुवाउने तथा गरिब,दु:खी ब्राह्मणहरुलाई दान दक्षिणा गरे परिवारमा सुख शान्ती एवम् वैभव प्राप्त हुने जन विश्वास रहेको छ।मिठा मिठा परिकार खाने तथा सदभाव बाड्ने ‘नरहरी’लाई इष्टमित्र आफन्तजन भेटघाटको रुपमा पनि मनाइने गरिन्छ।