बैतडीका ३ ओटा स्थानीय तहका तीनओटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका एक एक ओटा विद्यालयमा सो कार्यक्रम सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
सो कार्यक्रमका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए। कार्यक्रम सञ्चालन हुने सम्बन्धित पालिकाले विद्यालय छनौट गर्नेछ भने जनशक्ति स्वास्थ्य कार्यालयले खटाउने छ। एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका विभिन्न विषयमा जानकारी दिइने बताइएको छ। छनौट भएका विद्यालयमा एक ÷एक जना स्टाफ नर्स खटाइने स्वास्थ्य प्रमुख भट्टले बताए।
कार्यक्रम सञ्चालन भएका पालिकाका विद्यालयहरूमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण समेत गर्ने बताइएको छ।  विद्यालयमा सञ्चालन हुने कक्षामा सरसफाइ, कोभिड १९ बाट बच्ने तरीका महिनावारी सरसफाइ लगायत स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुस