काठमाण्डौं असार १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीबालुवाटार बैठकमा चर्को बिबाद भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच बिबाद र भनाभन भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले रु यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए ।

‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए ।विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदो गरी राखिएको ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । नेताहरु अष्ठलक्ष्मी शाक्य, लघुजी पन्तलगायतले राजशी शैलीको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । त्यसपछि कुर्सी तल सारिएको थियो । त्यसपछि पनि बैठकमा सहभागीहरुले ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुस