कञ्चनपुर साउन २८ । कृष्णपुर नगरपालिकामा हिजो क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घट्नालाई लिएर स्थानीय आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि वार्ता सुरु भएको छ ।

नगरपालिका कार्यालयको सभा कक्षमा केही समय अघिदेखि सुरु वार्तामा नगरपालिकाका, पीडित परिवारका आफन्त र आन्दोलनकारीका प्रतिनिधि सहभागी भएका छन् ।

कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालका स्वकीय सचिव गणेश ऐरले आन्दोलनका क्रममा गरिएका माग समाधानका लागि वार्ता सुरु गरिएको जानकारी दिए ।

स्थानीयले मृतक महिलाका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै आन्लदोन गरेका हुन् । कृष्णपुरका मेयर हमालले मंगलबार साँझ नै मृतक महिलाका परिवारलाई सक्दो सहयोग गरिने घोषणा गरेका थिए ।

वार्तामा कृष्णपुरका मेयर हमाल सहित उप मेयर रमिता राना बडायक, ६ नम्बर वडाका अध्यक्ष नथुराम चौधरी, ४ का अध्यक्ष तेज रावल, प्रमुख प्रशासकीय अधिकृत शिव सिह भण्डारी सहित जनप्रतिनिधि सहभागी भएका छन् । यसैगरी पीडित परिवारको तर्फबाट देबराम ओड, लक्ष्मण ओड सहित महिलाका माइती पक्षका समेत केही जना सहभागी छन् ।

स्थानीय तह निर्वाचनमा कृष्णपुरका मेयर हमालका प्रतिद्वन्द्वी काँग्रेस नेता हेमराज ओझा, काँग्रेस नेताहरु लेखराज जोशीm कविराज भट्ट, दिल बहादुर देउवा लगायतका सहभागी भएका छन् । कविराज भट्ट वडा नं। ६ र देउवा वडा नं। ५ बाट अध्यक्षमा चुनाव हारेका थिए ।

कृष्णपुरका मेयरका उम्मेदवारका उम्मेदवार ओझाको नेतृत्वमा बुधबार विहानैदेखि आन्दोलन गरिएको थियो । उनीहरुले वडा कार्यालयमा तालान्दी गरी नगरपालिका कार्यालय घेराउ गरेका थिए ।

नगरपालिका कार्यालय ताला लगाउने क्रममा प्रहरीसित झडप भएपछि आन्दोलनकारीले कार्यालयमा ढुङ्गामुढा प्रहार गरी तोडफोड गरेका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुस