कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाइनुपर्ने भन्दै विभिन्न ६ विद्यार्थी सङ्गठनले धारणा सार्वजनिक गरेका छन्। शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार नभएको अवस्थामा पनि विश्वविद्यालय बनाइए सुदूरपश्चिमका जनतामा थप हौसला प्रदान हुने अपेक्षा सहित विभिन्न ६ विद्यार्थी सङ्गठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दे माग अघि सारेका हुन्।
‘हाल नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा , रोजगार र आर्थिक समृद्धि सङ्गै राष्ट्रिय गौरवको रूपमा समग्र देशलाई नै दूरगामी टेवा पुर्‍याउने गरि सोचिनु पर्छ।  यो सन्दर्भमा प्रस्तावित मेडिकल कलेज लाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरि आगामी वर्ष देखि प्रारम्भिक चरणको पठनपाठन सुचारु गर्न राज्य सङ्ग जोडदार माग गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।
अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल (क्रान्तिकारी ) का सेतिमहाकाली संयोजक वीरेन्द्र शाह, रा प्र वि सङ्घका केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्कर जोशी, र अखिल छैठौका प्रदेश सदस्य पुष्कर भट्टद्धारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा ‘वि.स. २०७३ साल देखि कैलालीको गेटामा निर्माण कार्य थालनी भएको प्रस्तावित गेटा मेडिकल कलेज स्थापनार्थ सुदुरपश्चिमेली जनताको धेरै ठुलो त्याग र सङ्घर्ष रहेको कुरा सर्वविदितै छ, हाल सम्म पनि मेडिकल कलेज सञ्चालनको सन्दर्भमा राज्यले देखाएको उदासीनता र गैर जिम्मेवारीपनको हामी भर्त्सना र निन्दा गर्दछौँ।’ भनिएको छ।
प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन। विद्यार्थी सङ्गठनले पुरानो विश्वविद्यालय प्रणाली अन्तर्गतको मेडिकल कलेज वा शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रूपमा नभई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रूपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुने विज्ञप्तिमा उल्लेख गरेका छन्।

Image may contain: text

प्रतिक्रिया दिनुस