कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ। नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताए।

दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्ना गर्ने र सङ्ग्रहालयको प्रचारप्रसारका लागि माघी मेलाको अयोजना गर्दै आएको छ। थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ। सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राखिएका छन्।

थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राखिएका छन्। सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन्। रासस

प्रतिक्रिया दिनुस