सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट प्राप्त भएको खोप धनगढी पुगेको जनाउँदै बुधबारदेखि खोप लगाउन सुरू हुने जनाएको छ।

प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरूद्ध १६ हजार २ सय ९३ जनालाई पुग्ने खोपको मात्रा प्राप्त भएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले बताए।  ‘सुदूरपश्चिम प्रदेशमा ३५ हजार १ सय ७० खोपको मात्रा उपलब्ध भएको छ,’ उनले भने।  खोप लगाउन प्रदेशभर १० केन्द्र तोकिएको उनले बताए।

कार्कीले कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको बताए। यस्तै, अरू आठ जिल्लाका जिल्ला अस्पतालबाट लक्षित वर्गलाई खोप दिइने उनले बताए। उक्त खोप अस्पतालमा सरसफाइ गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, शव वाहन चालक, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पहिला लगाइने व्यवस्था गरिएको कार्कीले बताए। तर, यी लक्षित वर्गमध्ये स्तनपान गराउने महिला, गर्भवती, सुत्केरी र रगत बग्नेसम्बन्धी समस्या भएकाले भने प्रयोग नगर्ने कार्कीले बताए।

पहिलो चरणमा माघ १४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन अभियान सुरू गरी २८ गते सम्पन्न गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रतिक्रिया दिनुस