फाइल।

कैलालीको कैलारी गाउँपालिका–७ बसन्तास्थित बसन्ता वन क्षेत्रमा बनाइएको संचरचना हटाउन खोजिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ। डिभिजन वन कार्यालयले आइतबार केही संरचनामा डोजर चलाएको थियो। अतिक्रमण हटाउनका लागि आज पनि डोजर गएपछि स्थानीयले अवरोध गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए।

‘स्थानीयको अवरोधपछि काम रोकिएको छ’, उनले भने। बाढीपीडित भएको भन्दै स्थानीयले सो ठाउँमा वन क्षेत्रमा संरचना बनाउन खोजेका छन् । केही समय अगाडिमात्रै वन र स्थानीयबीच वन क्षेत्रमा संरचना नबनाउने र वास्तविक बाढीपीडितको उचित पुनस्र्थापनाका लागि पहल गर्ने सहमति भएको थियो । तर, स्थानीयले सहमति कार्यान्वन नगरेको कँडेलले बताए । वन क्षेत्रमा बनाइएको संरचना हटाउन खोजिएपछि स्थानीय आक्रोसित भएका छन् ।

उनीहरुले वडा नम्बर ७ को वडा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । यसैगरी, कैलारी गाउँपालिकाको कार्यालयमा पनि तालाबन्दीको प्रयास गरीएको थियो । धेरैको संख्यामा आएका स्थानीयले गाउँपालिकाको कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए । यसैबीच, बाढीपीडित स्थानीयसहित सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल हुने बताइएको छ । आफ्नो समस्या राख्नका लागि स्थानीयहरु जिल्ला प्रशासन कार्यालयमा आउने सूचना आएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘तर, सम्बन्धित मान्छेबाट हामीलाई जानकारी आएको छैन’, उनले भने ।

प्रतिक्रिया दिनुस