भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप कञ्चनपुर सहित सुदूरपश्चिमका नौ ओटै जिल्लामा पठाइएको छ। सोमबार काठमाण्डौबाट धनगढी पुगेका खोप मंगलबार सबै जिल्लामा पठाइएको धनगढी स्थित प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको हो।
३६ हजार डोज खोप धनगढी आएकोमा २ हजार ८ सय २० डोज खोप कञ्चनपुर जिल्लामा पठाइएको केन्द्रले जनाएको छ। आधा खोप भने केन्द्रमै जम्मा गरिएको छ। उक्त खोप एक महिनापछि दोस्रो डोज लगाउनका लागि वितरण गरिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह काकीले बताए।
पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्याङ्क सङ्कलन गरिएको छ कार्कीले भने, ‘खोप लगाउन स्वास्थ्यकर्मीको तथ्याङ्क सङ्कलन गरिएको भए पनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी हुनेछैन।’ प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र तय गरेको छ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्टिन निरीक्षक जनक बहादुर कुवरले २८२० डोज खोप आइपुगेको जानकारी दिए।  उनले बुधवार देखी फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने जानकारी दिए। पहिलो चरणको खोप माघ २४ गते सम्म लगाइने उनले बताए। बुधवार बिहान १० बजे देखी खोप व्यवस्थापन केन्द्र महाकाली अस्पतालमा खोप लगाउन सुरु गरिने उनले बताए।
प्रतिक्रिया दिनुस