प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

‘अहिले हाम्रो आन्दोलनको मुख्य उद्देश्य नै संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा छ,’ नेता केसीले भने, ‘त्यसका लागि कांग्रेसले आन्दोलन छाड्न हुन्न ।’प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको जानकारी दिए मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उनले बताए ।३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने जनाइएको छ ।

यसैबीच बैठकले महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय गरेको छ । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुस