तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ ।
कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकर जोड्ने गरी आर्थिक वर्ष ०६५–०६६ बाट महाकाली करिडोर निर्माण सुरु गरिएको थियो। १५ वर्षीय योजनाको रूपमा यो योजना अघि सारिएको थियो। योजनाको अवधि सकिन तीन वर्ष मात्रै बाँकी रहँदा अहिलेसम्म ३३ प्रतिशत मात्रै काम भएको छ।
कुल ४ सय २५ किलोमिटरको महाकाली करिडोर अन्तर्गतको १ सय ४० किलोमिटर ट्रयाक खुलेको छ। रूख कटानको सहमति नहुँदा १ सय १७ किलोमिटर ट्रयाक खोल्ने प्रक्रिया अलपत्र परेको छ। बहुवर्षीय ठेक्का अन्तर्गत थप १ सय १७ किलोमिटर ट्रयाक खोल्न ९० करोड बजेट माग गरिएकोमा चालू आर्थिक वर्षमा सरकारले ३१ करोड विनियोजन गरेको छ ।
तर राइट अफ वे मा पर्ने रूखको कटानको लागि वन विभागसँग सहमति हुन नसक्दा चालू आर्थिक वर्षको छ महिना बित्दा पनि निर्माण कार्य अगाडि बढेको छैन। महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका प्रमुख अच्युत विलास पन्तले वन क्षेत्रमा रुख कटानको लागि आवश्यक प्रक्रिया अघि बढाइएको भएपनि पूर्णता नपाउन ढिलाई भएको जानकारी दिए। ‘थप ट्रयाक खोल्नका लागि नयाँ ठेक्का व्यवस्थापन गर्नुपर्छ, उनले भने, ‘त्यसको लागि पहिला रूख काट्नुपर्छ । प्रक्रिया बढाएका छौँ। सम्भव त छिट्टै काम अघि बढ्ला।’
अहिले थालिएको प्रक्रिया अनुसार रुख काट्ने अनुमति मिलेमा दार्चुलामा ३४ किलोमिटर, डडेल्धुरामा १४ बैतडीमा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडकको ट्रयाक खुल्ने योजना कार्यालयले जनाएको छ।