भारतसंग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा सशस्त्र प्रहरीको नयाँ बीओपी स्थापना गरिएको हो । यो संगै कैलालीमा बीओपी संख्या १४ पुगेको छ ।

सीमाको सुरक्षा, सीमा क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डङ्गौराले संयुक्त रुपमा उद्घाटन गरे ।

कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ । बीओपीको उद्घाटन गर्नु हुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा व्यावसायिक ढङ्गले लाग्न बीओपीमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिए ।

उनले अहिलेको विषम परिस्थितिमा व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै राज्य र जनताको सुरक्षा गर्ने ठूलो जिम्मेवारी राष्ट्र सेवक सुरक्षाकर्मीको काँधमा आएको बताएका छन् । ‘त्यसैले हामी अनुशासित र कर्तव्यनिष्ठ भएर व्यावसायिक रुपमा आफ्नो काममा लाग्नु पर्दछ’, उनले भने । सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति दीपेन्द्र कुँवर, कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस