संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएकी थिइन्।

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताएका थिए । आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।हड्तालका क्रममा अत्यावश्यक सेव, परीक्षामा अवरोध नगर्ने संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने संघर्ष समितिले स्पष्ट पारेको छ ।

यसैबीच, गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै संविधान र प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी गरे कारबाही गर्ने मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ । मन्त्रालयले उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्वाध आफ्नो काम पूर्ववत सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुस