भीमदत्तनगरपालिकाका पूर्व मेयर ईश्वरी प्रसाद खरेल र नेकपाका नेता उर्वादत्त पन्त अमानवीय शैलीमा उत्रिएका छन्। बिहीबार प्रचण्ड–नेपाल समूहका ती नेताले महेन्द्रनगर बसपार्कस्थित चम्मन चोकमा रिपोटीङका क्रममा खटिएका कञ्चन टुडे दैनिकका सह–सम्पादक तथा आर्थिक अभियानका सम्वाददाता मदन गिरिमाथि हैकमवादी शैली देखाउँदै कुटपिट गरेका छन्।

गिरीले भारतबाट आएर अलपत्र परेका एक जना यात्रुहरूसँग कुराकानी गरिरहेकै बेला पूर्व मेयर खरेलले को हो ? तिमी भन्दै दुर्व्यवहार सहित कुटपिट गरेको बताए।

महासंघद्धारा निन्दा

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको आम हड्ताल बाट प्रभावित पैदल यात्रु सँग रिपोर्टिङमा खटेका पत्रकार मदनराज गिरी माथि गरिएको गाली गलौच र हातपातको घटना प्रति नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले निन्दा गरेको छ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै आम हडतालका कारण पैदल यात्रीहरूमा परेको असुविधाका विषयमा रिपोर्टिङका लागि कञ्चनपुरको महेन्द्रनगरमा कुराकानी गर्दै गरेका आर्थिक अभियान दैनिकका समाचारदाता गिरी माथि बन्दकर्ताहरुले गाली गलौच र हातपातको घटनाले पत्रकारले समाचार सङ्कलन गर्ने र प्रकाशन प्रसारण गर्न पाउने अधिकारलाई रोक्न खोजेको ठहरको छ।

पत्रकार माथि गाली गलौच र हातपात गर्ने माथि कानुनी कारबाही हुनु पर्ने नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुस