बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले अनुशन्धानका लागी सात जना सँग सोधपुछ गरेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भट्टको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले अहिले सम्म सात जनामाथि सोधपुछ गरिसकेको जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले किशोरी मृत फेला परेको स्थानबाट ओहोरदोहोर गरेका सात जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जानकारी दिए। सोधपुछका क्रममा संलग्नता नरहेको देखीएपछि छोडीएको उनले बताए। उनले भने,–भागरथी भट्टको हत्या संलग्न भएको आशङ्कामा सोधपुछ कार्य चलिरहेको, भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुक लगायतका कुराहरूको विश्लेषण भइरहेको छ।’
हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। बलात्कारपछि नै भागरथीको हत्या भएको निष्कर्ष तर्फ प्रहरी पुगेको छ। पोस्टमार्टम रिपोटले थप जानकारी प्राप्त हुने भए पनि प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि नै हत्या भएको प्रहरीको निष्कर्ष छ। भागरथीको शवको प्रकृति हेर्दा उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। यद्यपि पोस्टमार्टम रिपोट भने आइ नसकेको उनले बताए।
भागरथीको बलात्कार पछि हत्या भएको परिवारले आशङ्का गरेका छन्। शुक्रवारदेखि नेपाल प्रहरीका एसएसबी जनकाराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि घटनाको अनुसन्धान गरिरहेको प्रवक्ता धामीले जानकारी दिए।
भागरथी हत्याको घटनाको सूक्ष्म तरीकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गत बुधवार विद्यालयबाट नफर्केपछि खोजी गर्दा बिहीबार शरीरका कपडा फुकालेको, घाँटी निमोठेको, शरीरमा घाउ चोटपटक रहेको अवस्थामा लवलेक सामुदायिक वनमा भागरथीको मृत शरीर फेला परेको थियो।