स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार देखि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ। कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंतीमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो।

सरकारले आजबाट पत्रकार, कूटनीतिक नियोग र संयूक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन लागेको हो। मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए। स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ। खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्। पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ। पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो।

प्रतिक्रिया दिनुस