जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाको दृष्टिकोणले चुनौती छ,’ उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीहरुलाई राख्नु परिरहेको छ।’कारागारमा अहिले ३२ जना कैदी र ४१ जना थुनुवा रहेका छन्।
भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बस्ने व्यवस्था मिलाइएको छ जेलर तिवारीले बताए। उनले भने, ‘१० जना टेन्टभित्र बसिरहेका छन्। बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ।’ भवन जीर्ण रहेको र कोठा पनि कम रहेकोले निकै समस्या झेल्नु परेको छ जेलर तिवारी बताउँछन्। कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीहरुलाई सुत्ने व्यवस्था मिलाइएको छ। २०४० सालमा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिए पनि कोठा थपिएको छैन। बढी कैदीबन्दी राख्नुपर्दा विभिन्न रोगको संक्रमण हुने जोखिम पनि बढेको छ।
खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको छ। १० महिला र १५ पुरुष कैदी गरी २५ कैदीबन्दी राख्ने क्षमता कारागारमा हाल सबै पुरुष कैदीबन्दी छन्। कारागारको क्षमता बृद्धि गरी ४० जना अटाउने कारागार बनाउन डिपिआर गरिसकिएको तिवारीले बताए। यस्तै, कारागारसँग आफ्नो गाडी नहुँदा सुरक्षा चुनौती थपिएको छ। कारागारबाट अदालत पाँच किलोमिटरको दूरीमा रहेको छ। पैदल लैजाँदा कैदीबन्दी भाग्ने हो कि भन्ने डर रहेको तिवारीले बताए।