बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् । माघ २१ गते विद्यालय गएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा भेटिएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी हत्या प्रकरणमा अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेका छन् । उनले भने, ‘अपराधीको नजिकै पुगिसकेका छौँ । केही भेरिफाई हुँदैंछ । चाँडै नै दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ ।’ उनले यसै साताभित्र दोषीलाई सार्वजनिक गर्ने तयारी भएको बताए ।

स्रोतकाअनुसार प्रहरीले सम्‍भावित व्यक्तिहरूको सूची बनाएको छ । सम्भावित अपराधीको सूचीमा सरकारी कर्मचारी, शिक्षक, भागरथीका परिचित अन्य व्यक्ति रहेको स्रोतको दाबी छ । विभिन्‍न तथ्य र सूचनाका आधारमा डेढ दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको प्रहरीले अहिले उनीहरूको बयान भेरिफाई गरिरहेको छ । २१ मघमा विद्यालय गएकी भागरथीको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुस