नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन्। नेपाली कांग्रेस बैतडीले सदरमुकाम गोठलापानीमा संसद विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता लेखकले संसद विघटन सर्वसत्तावादी चिन्तनबाट भएको बताए।

उनले भने–‘संसद विघटन संविधान विपरीत छ। हामी यो बिषयमा स्पष्ट छौं। प्रधानमन्त्रीले सर्वसत्तावादी चिन्तनले संसद विघटन गरेका हुन्।’ विरोधसभामा बोल्दै नेता लेखकले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधिन रहेकाले सर्वोच्चको निर्णय आफूहरुलाई स्वीकार हुने बताए। सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भएपनि सर्वोच्चको निर्णय भने आफूहरुले मान्ने उनले बताए। आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै नेता लेखकले नेकपामा ठूलो भुइचालो गएको बताए। उनले भन्नुभयो ‘अहिले नेकपामा ठूलो भुईचालो गएको छ। यसको पराकम्प नेपाली कांग्रेसमा जानु हुँदैन् ।

यसमा हामी सबै सजक हुनुपर्छ।’विरोधसभामा बोल्दै नेता लेखकले कांग्रेस हार्दा देशले हार्छ भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । गएको चुनावमा नेपाली कांग्रेस पराजित भएकै कारण अहिले देशमा यस्तो स्थिती आएको उहाँको दाबी छ । सरकारले संसदको हत्या गरेको समेत उनले बताए। यस्तै नेता लेखकले बलात्कारपछि हत्या गरिएकी भागरथीका हत्यारालाई छिटो पत्ता लगाउन सरकारसंग माग गरे। भागरथीको न्यायका लागि आफ्नो पार्टीले सबै प्रकारका पहल गर्ने उनले बताए। आफूलाई पार्टीले भागरथीको हत्याका बिषयमा बुझ्न पनि पठाएकाले यही फागुन ५ को केन्द्रिय समिति बैठकमा प्रतिवेदन पेश गर्ने उनले बताए। नेता लेखकले आफू मन्त्री भएको बेला सुदूरपश्चिमका थुप्रै भौतिक पूर्वाधारका कामको शुरुवात भएपनि अहिले ती योजनाहरुमा बजेटको अभाव भएको दाबी गरे।

प्रतिक्रिया दिनुस