सुदूरपश्चिमका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पुराना दरबारहरु नासिन थालेका छन्। संरक्षण र संवद्र्धन गर्न सके पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने भए पनि पुराना दरवारहरुको अस्तित्व भने मेटिदै गएको हो। ऐतिहासिक संस्कृति, समाज र समयको जानकारी दिने दरवारहरुको संरक्षणमा सरकारले ध्यान दिन सकेको छैन। मुलुक संघीय व्यवस्थामा गएर तीन तहको सरकार बनेका छन् तर प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक बस्तुहरुको संरक्षण, संवद्र्धनमा ध्यान दिएका छैनन्। कैलालीको खैरालामा रहेको गर्भा दरबार जीर्ण छ। दरबारका भित्ताहरु भत्कन थालेका छन्, छानो चुहिने छ। बुट्यानहरु उम्रिएर भित्ताहरु भत्कन थालेका छन् तर उचित संरक्षण हुन सकेको छैन।

यस्तै डोटीमा पनि पुराना राज्य रजौटाका पालामा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू भग्नावशेषका रुपमा परिणत हुन थालेका छन्। पूर्वीचौकी, जोरायल, दिपायल–सिलगढीलगायत क्षेत्रमा निर्माण गरिएका वर्षौँ पुराना दरबार तथा कोटहरू जीर्ण अवस्थामा छन्। उचित संरक्षण तथा संवद्र्धन नगरिएका कारण यी दरबार र कोटहरुको अस्तित्व मेटिन थालेको छ। डोटीको जोरायल गाउँपालिकास्थित निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरबार, दिपायल सिलगढी नगरपालिकाको दिपायल र सिलगढीमा रहेको डोटी गौडा दरबार संरक्षण नहुँदा बर्सेनि भत्किँदै जान थालेका छन्।

सुदूरपश्चिमका अन्य जिल्लामा रहेका ऐतिहासि महत्वका दरबारहरुको अवस्था पनि उस्तै छ। कलात्मक ढङ्गले बनाइएका दरबारहरुको संरक्षणले ऐतिहासि संरक्षणमात्र हुँदैन, पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ। यी ठाउँको पर्यटन विकासबाट आर्थिक विकास हासिल गर्न सकिन्छ। त्यसैले ऐतिहासिक दरबार र कोटहरुको संरक्षणमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्छ। ऐतिहासिक महत्व बोकेका बस्तुहरु नासिन दिनु हुँदैन।

प्रतिक्रिया दिनुस