प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभई फिर्ता ल्याएको बताएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ बेचियो भनेर गालि गरी रहन्छन्, महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नदी बेचेको होइन। त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ। फिर्ता ल्याइएको छ।’उनले महकालीको पानी नेपाली किसानको खेतसम्म पुगाउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने बताए।

नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकास सम्बन्धी महाकाली सन्धि भएको थियो। यो सन्धि नेपालको हितविपरीत भएको र त्यसमा ओलीले महत्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गरे। उनले दार्चुलामा गुमेको नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियाअगाडि बढेको बताउँदै भने, ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं। अब यसले एउटा वातावरण बनेको छ। भारतसँग सम्वाद भइरहेको छ।’कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने दाबी गरे। उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुईरतीन दिनभित्रै हुनसक्ने संकेत पनि गरे। ‘अहिले प्रतिनिधिसभा विघटन भएको छ । हामी चुनावको तयारीमा छौ । हुनसक्छ अबको दुई÷तीनभित्रै संसद विघटनबारे फैसला हुन्छ होला,’ प्रधानमन्त्री ओलीले भने । उनले संसद पुर्नस्थापना भए देश झन अस्थिरतातर्फ धकेलिने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होइन् । देश विकासको आन्दोलन गर्छु भनेको हुँ ।’

प्रतिक्रिया दिनुस