अनुदानमा बाख्रा पाएपछि डोटीको बोगटन फुड्सिल गाउँपालिकाका किसान जिविकोपार्जमा सहजता भएपछि हर्सित भएका छन्। सिड नेपालले धिर्कामाण्डौका २५ घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेपछि किसान हर्सित भएका हुन्। बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा बोहराले कोरोना महामारीकाबिच जीविका चलाउन भन्दै भारत पसेका श्रीमान सन्तोष बोहरा काम नपायर रित्तै घर फर्किनुपरेको बताइन्।

उनि घर फर्केको केहि दिनमा अनुदानमा ३ वटा बाख्रा पाएपछि जिविको पार्जनमा सहजता भएको उनले बताइन्। “दैनिक जीविका चलाउनका लागी भारत गएको थिएँ, त्यहाँ कुनै काम पाइएन, अब बाख्रा पालेर जीविका चलाउछु,” सन्तोषले भने। घरमा लगाएको खेतीपातीले ६ महिना खान पुग्दैन थियो, यसपाली पर्याप्त पानी पनि नपरेकोले भोकमरी हुने चिन्ता थियो, अब आफुसँग भएको ४ वटा सहित ७ वटा बाख्रालाई जीविकोपार्जनको माध्यम बनाउने इशरा दम्पत्तिको योजना छ। युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सिड नेपाल डोटीले बोगटान फुड्सिल गाउँपालिका सँगको समन्वयमा गाउँपालिका स्थित वडा नम्वर ५ को धिर्कामाण्डौका २५ घरधुरीलाई निःशुल्क बाख्रा वितरण गरेको हो। हरेक घरधुरीलाई ३ वटाका दरले ७५ बाख्रा र २ बोका वितरण गरेको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए।

वितरण गरिएका बाख्राहरुका लागि २५ वटा खोर समेत निर्माण गरिदिएको कोषाध्यक्ष जोशीले बताए। जीवकोपार्जन पूर्नस्थापनाका लागी जलवायू संवेदनशील सुशासन परियोजना अन्तर्गत बाख्रा वितरण गरिएको परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिए। वितरण गरिएका बाख्राको रेखदेख तथा दिगोपनाका लागि समय समयमा निरिक्षण गरिने संयोजक रोकायाले बताए। सिड नेपाल डोटीले दातृ सँस्थाहरुको सहयोग तथा गाउँपालिकासँगको समन्वयमा बोगटान फुड्सिल गाउँपालिकामा करिब २ सय बाख्रा वितरण गरिसकेको जनाईएको छ।

प्रतिक्रिया दिनुस