प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर निर्मला पन्त हत्याको सत्यतथ्य छानविन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, ओलीले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’ समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए। साढे २ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो।

अदालतलाई धम्की दिने चलन आफ्नो नभएको ओलीले बताए। ‘न्यायालयका सबै निर्णय उपयुक्त नहुन पनि सक्छन्’ ओलीले भने,‘ केही मान्छेले पुनरावेदन पनि गर्न सक्छन्। न्यायालयमाथि विश्वास राख्छौ।’ आफूले शक्ति पृथकिकरणमा विश्वास गर्ने भन्दै ओलीले संसद पर्नस्थापन भए फेरि प्रधानमन्त्रीका लागि पार्टी खोज्दै हिड्नुपर्ने अवस्था आउने औंल्याए। ‘त्यसपछि सत्ता समिकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुन्छ’ ओलीले भने।’ दैजीमा छेला औद्योगिक क्षेत्र करिव सात अर्ब लागतमा पाँच वर्ष भित्र बनिसक्ने लक्ष्य छ लिइएको छ। यहाँ साना, मझौला र ठूला उद्योग स्थापना गर्ने सरकारी लक्ष्य योजना छ।

प्रतिक्रिया दिनुस