सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ। बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन्। बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ। प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको छ।

बुधबार नै दोस्रो चरणको वार्ता गरेको सरकार र चन्द समुहबीच आज निर्णायक वार्ता गर्ने तयारी भइरहेको सरकारी वार्ता टोलीले जानकारी दिएको हो। वार्तामा विप्लव पक्षसँग रहेको हतियार बुझाउनेदेखि वैधानिक आन्दोलनमा आउने विषयमा हस्ताक्षर गर्नुपर्ने सरकारी पक्षको धारणा छ भने विप्लवका प्रतिनिधिले भने प्रतिबन्ध फुकुवा र बन्दी नेता, कार्यकर्ता रिहाइसहित माग राखेको छ। राजनीतिक रुपमा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह, संयुक्त राष्ट्रिय सरकार गठन र त्यसका लागि सर्वपक्षीय भेलाको प्रस्ताव विप्लव समूहले अघि सारेको छ।

चाडै मन्त्रिपरिषद् बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने विप्लव समूहको वार्ता टोलीलाई भनिएको छ। वार्ता टोलीका सदस्यले सरकारतर्फबाट आएको प्रस्तावबारे महासचिव विप्लवसँग समेत कुरा गरिसकेका छन्। वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको टोली छ भने विप्लव समूहबाट भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको वार्ता टोली छ।

प्रतिक्रिया दिनुस