महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ । नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको हो ।
सडक निर्माणलगायतको कामका लागि भारतीय जिल्ला प्रशासनलेअनुमति दिए पनि क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए । ठेकेदारले दैनिक सयौँ ट्रक बालुवा निकालेर लैजाँदा भारततर्फका नदीतटीय क्षेत्रका बासिन्दासमेत दुर्घटनाको जोखिममा परेको आर्यले बताए ।
नेपालतर्फ महाकाली नदीबाट बालुवा उत्खननको मापदण्ड बनाएर मेसिन लगाउन नपाउने प्रावधान भएपनि भारततर्फ एस्काभेटर प्रयोग गर्दा नदी तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा पर्ने खतरा रहेको छ । नेपालतर्फ मेसिनको प्रयोग नगरी मानवीय श्रमको प्रयोग गरेर बालुवा उत्खनन गर्दा पनि प्रशासनले कडाइ गरेको छ तर भारततर्फ ठूलाठूला मेसिनले बालुवा उत्खनन भइरहेको स्थानीय जयसिंह भाटले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।