फाइल।

कञ्चनपुरमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत शुक्रवार सम्म १७ हजार ३ सय ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका २९ खोप केन्द्र मार्फत ६४ वर्ष माथिका १७ हजार ३ सय ५० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालयका खोप निरीक्षक जनक कुँवरका अनुसार ज्येष्ठ नागरिकलाई खोप लगाउने क्रम जारी रहेको छ। जिल्लाको बेल्डाँडी गाउँपालिकाले ५ खोप केन्द्रमार्फत दोस्रो चरण अन्तर्गतको खोप अभियान सम्पन्न गरेको खोप निरीक्षक कुवरले बताए। त्यस्तै महाकाली नगरपालिकाले पनि आज सिद्ध्याइँ सक्ने जनाइएको छ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लामा फागुन २३ गते २ हजार ८ सय ७ जना, २४ गते ३ हजार ७ सय ५४ जना, २५ गते ४ हजार ३ सय ९ जना, २६ गते ३ हजार ५ सय ७७ जना, महाशिवरात्रीको दिन २७ गते भने १ सय २७ जना र २८ गते २ हजार ७ सय ७६ जनाले कोरोन विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ। कोरोना विरुद्धको खोप लगाएका केही व्यक्तिमा सामान्य ज्वरो आउने, टाउँको दुख्ने समस्या देखिएको स्वास्थ्य निरीक्षक कुँवरले बताए।

तर जटिल समस्या भने ननिम्तिएको उनले बताए। उनले जिल्लाको भीमदत्त नगरपालिकाको हकमा ८ स्थानमा खोप केन्द्र तोकी कोरोना विरुद्धको खोप अभियान चलिरहेको बताए। छुटेकाको हकमा भने महाकाली अस्पतालमा आएर पनि खोप लगाउन मिल्ने उनले जानकारी दिए। कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान चैत्र २ गते सम्म चल्ने छ। त्यसपछि भ्याक्सिनका आधारमा पहिलो चरणमा लगाएका र अन्य व्यक्तिलाई खोप लगाइने सरकारको योजना छ।

प्रतिक्रिया दिनुस