शिवरात्री मेला हेर्न गएका दार्चुलाका रमेश कार्कीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।
अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए। गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए । कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशङ्का गरेको हो । मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ। शव परीक्षण भए पनि आफन्तले शव बुझ्न मानेका छैनन्।