महेन्द्रनगर ४, फागुन–कञ्चनपुरमा दुई करोड बढीको लगानीमा ड्रागनफ्रुट व्यवशायीक खेती सुरु गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिका –९ मटेना स्थित पूर्व वन अधिकृत रमेश बहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताले सामूहिक रूपमा दुई करोड लगानिमा ६ विगाह जमिनमा ड्रागनफ्रुट खेती सुरु गरेका हुन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दे वेष्टर्न मल्टि एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रा.लि.ले मुलुक भरीकै बढी लगानी र क्षेत्रफलमा कञ्चनपुरमा ड्रागनफ्रुटको व्यवशायीक खेती गरिएको जानकारी दिएको छ।

विदेशबाट बिउ ल्याएर साढे सात हजार सिमेन्टका पोलमा ड्रागनफ्रुट खेती गरिएको वेष्टर्न मल्टि एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक महताले बताए।

जिल्लामै पहिलो पटक ड्रागनखेती गरेका उनीहरूले बन्जर जमिन भाडामा लिएर खेती गरेका हुन। प्रति विगाह ३५ हजारका दरले १० वर्षमा लागि ६ विगाह जमिन भाडामा लिएर ३० हजार बिरुवा रोपेका छन्।

प्रति एक पोलमा चार बिरुवा रोपिएका छन्। लकडाउनका बेला केही गर्नुपर्छ भन्ने सोचका साथ वेष्टर्नमल्टि एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालि मार्फत ड्रागन खेती गरिएको सञ्चार उद्यमी महताले बताए। उनले उत्तरी भेगमा सम्भावना भएकाले ‘सिउँडी प्रजातिको बिरुवा’ ड्रागनखेती गरिएको जानकारी दिए। हाल प्राविमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने फलफूल बिक्रिगर्दासम्म र बजारमा गइसकेपछि अप्रत्यक्ष रूपमा ३ सय बढीले रोजगारी पाउने सञ्चार उद्यमी महताले बताए।

प्रतिक्रिया दिनुस