नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीप्रति आफूले आक्रोस पोख्नुको कारणबारे बोलेका छन् । नेपाल तरुणदल स्याङ्जा भीरकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले प्रष्ट पारेका हुन् ।
‘उहाँ (केपी ओली) उमेरले साँच्चिकै बा हुनुहुन्छ । बा भन्दा मलाई पनि कुनै आपत्ति छैन । व्यत्तिगत रुपमा आक्रोश छैन । जेष्ठ नागरिक झापा निवासी खड्कप्रसाद ओलीप्रति सम्मान छ । मेरो आक्रोश प्रधानमन्त्री बेपी ओलीप्रति छ,’ उनले भने । उनले आफूलाई सामाजिक सञ्जालमा केपी ओलीका समर्थक रहेका एक युवाले ओलीप्रति निक आक्रोश पोखेको भनेर सोधेको भन्दै जवाफ पनि दिए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूको टिकटकमा हेरेर म हाँस्दिन । मैले प्रधानमन्त्री जोकर खोजेको होइन । त्यसैले म हाँस्दिन,’ उनले भने, ‘रक्षामन्त्री आफैँ, नजिकको पात्र गृहमन्त्री, अनुसन्धान आफैँमुनी लगेर राख्नु भएको छ । चौतर्फी सुरक्षाको घेरामा भएको प्रधानमन्त्रीले असुरक्षा भयो भन्दा मलाई हाँसो उठ्दैन रिस उठ्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिस उठ्नुको कारण अरु पनि सुनाए । ‘वर्षाैँ अघि सुरु भएको योजना अहिले धमाधम शिलान्यास गर्दा मलाई रिस उठ्छ । प्रधानमन्त्री ओली भन्नुहुन्छ कोही पनि मान्छे उपचार नपाएर मर्दैन । मलाई जनकपुरमा जीवनजल नपाएर मरेको राजु सदार सम्झिएर रिस उठ्छ’ उनले भने । कालापानीमा भारतले सडक विस्तार गर्दा र चीनले तातोपानी नाकामा सामान अड्काएर राख्दा आफूलाई प्रधानमन्त्रीप्रति रिस उठ्ने थापाको भनाइ छ ।
‘प्रधानमन्त्रीले कालापानीमा भारतले बाटो बनाइरहँदा चुइँक्क बोल्नु हुन्न मलाई रिस उठ्छ,’ उनले भने, ‘कालापानीमा व्यापारीका सामान रोकिँदा चीनसँग एक शब्द बोल्न नसक्ने प्रधानमन्त्री देखेर रिस उठ्छ ।’