धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी कञ्चनपुरकी कमला रोकायाका श्रीमानविरुद्ध उनका माइती पक्षले उजुरी दिएका छन्। कमलाले आत्महत्या गरेको नभई हत्या गरिएको भन्दै उनका श्रीमानविरुद्ध उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक महिलाका श्रीमानविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ। माइती पक्षले कोठामा दुवै जना साथमै हुँदा पनि उनका श्रीमानले आत्महत्या किन गर्न दिए, मृत्युपछि पासो फुकाउनुको सट्टा पहिले नै किन फुकाएनन्, मृत्युपश्चात मात्रै किन पासो फुकाए, नफुकाउनुपर्ने, प्रहरी आउन दिनुपर्ने, यदी कमलालाई आत्महत्या गर्नु थियो भने उनका श्रीमान आउँदासम्म किन गरिनन्, आइसकेपछि मात्रै किन गरिन् भन्दै आशंका व्यक्त गरेका छन् ।

भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पञ्जाबमा बस्दै आएकी कमला बिहिबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि उनीसँगै विगत केही दिनदेखि होटलमा बसेका श्रीमान सुर्जल रोकायालाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस