जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन्। पच्चीस जना क्षमताको कारागारमा हाल ३८ कैदीबन्दी र ३७ थुनुवा गरी ७५ जना बस्दै आएका छन् । महिला बन्दीका लागि बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने बाध्यता रहेको छ भने महिला कैदीबन्दी तथा थुनुवा आएको खण्डमा अर्कै जिल्लामा सार्नुपर्ने अवस्था रहेको जिल्ला कारागारका जेलर धनबहादुर घर्तीले बताए । हाल ६ कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था छ ।

शौचालयमा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको घर्तीले बताए । खेलकुद, पुस्तकालय, मनोरञ्जनका साधन त परैजाओस् ७५ जनाका लागि दुई शौचालय मात्रै हुँदा बिहानदेखि दिउँसो १२ बजेसम्म दिसापिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको र एउटै कोठामा धेरैजना बस्ने भएकाले हलचल गर्न र श्वास फेर्नसमेत कठिन हुने गरेको जिल्ला कारागार बझाङका नाइके भक्त भण्डारीले बताए। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफू भर्खरै सरुवा भई जिल्लामा आएको र कारागारको केही दिनमा अनुगमन गर्ने र सघन सहरी विकास तथा भवन निर्माण आयोजना डोटीसँग बुझेर भवनका लागि पहल गर्ने बताए। रासस

प्रतिक्रिया दिनुस