फाइल।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताए।

जसमा ४ लाख ५० हजार जनाले यो खोप लगाउनेछन् । पहिलो प्रथमिकतामा पर्ने स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल एवम् शव व्यवस्थापनमा काम गर्ने कर्मचारी र दीर्घरोगी लगायतका व्यक्तिहरुले खोप लगाउने उनले बताए। चीन सरकारले सोमबार ८ लाख कोरोनाविरुद्धको भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । यसअघि २३ लाख ४८ हजार र भारतीय सेनाले उपलब्ध गराएको १ लाख गरी जम्मा हालसम्म नेपालले ३२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ ।

दोस्रो चरणको महामारी जोखिम

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना महामारीको जोखिम बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने देखिएको छ । तर डराइहाल्नुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा। गौतमले बताए। पहिलो चरणको कोरोना महामारीमा भारतमा सङ्क्रमण दर बढेको एक दुई हप्तापछि नेपालमा पनि संक्रमण दर बढ्न सक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्यकर्मीहरुको भनाइ छ । दैनिक २ देखि ३ हजारको संख्यामा भारतीय नागरिकहरु नेपाल फर्कदा भारतबाट कोरोना संक्रमण पनि नेपाल भित्रिने जोखिम बढ्दै गएको छ ।

नाकामा एन्टिजेन्ट जाँच

भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा नाकामा पनि स्वास्थ्य तथा सुरक्षा चेकजाँच बढाइएको छ । भारतबाट नेपाल प्रवेश गर्ने नाकामा चेकजाँच गरेकोमा हालसम्म ४८ जनाभन्दा बढीमा दोस्रो चरणका कोरोना संक्रमण देखिएको छ ।

सीमा नाकाहरुमा एन्टिजेन्ट स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । जसअनुसार आधा घण्टासम्ममा कोरोना संक्रमणको परिणाम जान्न सकिन्छ । केही नाकाहरुमा भने यो एन्टिजेन्टको व्यवस्था हुनसकेको छैन । त्यसका लागि सरकारले पहल गरिरहेको बताएको छ ।

नेपालमा ५ दशमलव ६ प्रतिशतले खोप लगाए

देशको कुल जनसंख्यामध्ये ५ दशमलव ६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अझै पनि ९० देशमा यो खोप लगाउन नसकेको अवस्थामा सरकारले गरेको यो पहल ‘वन अफ द बेस्ट पहल’ को रुपमा लिइएको प्रवक्ता गौतमले बताए। विश्वमा झण्डै ५ अर्ब खोप आवश्यक रहेकोमा १ अर्ब पनि खोप उत्पादन हुनसकेको छैन । जसकारण पनि खोप अभाव भएको हो ।

प्रतिक्रिया दिनुस