डडेल्धुरा । जिल्लाकाे परशुराम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको छ। अन्यायपूर्ण रूपमा कार्यसम्पादन मूल्यांकन गरिएको भन्दै सिडिओ कार्यालयमा निवेदन दिएसँगै उनीसहित अन्य १५ जना कर्मचारीले समेत सामूहिक रूपमा पुनर्मूल्यांकन र कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

टिपेक्स प्रयोग गरी अंक हेरफेर गरेको आरोप

कर्मचारीहरूले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्यांकन निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ नभई पूर्ण रूपमा पूर्वाग्रहयुक्त ढंगले गरिएको आरोप लगाएका छन्। मूल्यांकन फाराममा अंक परिवर्तन गर्न टिपेक्स प्रयोग गरिएको, पुनरावलोकनकर्ता तथा मूल्यांकन समितिले मिति नै उल्लेख नगरेको उल्लेख गरिँदै यसले मूल्यांकनप्रति गम्भीर प्रश्न खडा गरेको जनाइएको छ।

यसबाहेक २०८२ भदौ १९ गते प्राप्त पछिल्लो पत्रलाई अघिल्लो वर्षको मूल्यांकनमा आधार बनाइएको उल्लेख गर्दै, कर्मचारीहरूले गलत मनसाय स्पष्ट देखिएको दाबी गरेका छन्।

कानुनी प्रक्रिया नमानिएको दाबी

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ऐन २०८१ र निजामती सेवा नियमावली २०५० को प्रावधानविपरीत ७५% भन्दा कम अंक दिँदा कारण खुलाउँदै कर्मचारीलाई जानकारी नदिइएको र प्रतिक्रिया पेश गर्ने वातावरण नबनाइएकाले मूल्यांकन मनोमानी ढंगले गरिएको कर्मचारीहरूको भनाइ छ।

हामिक भट्टले कुनै पनि कर्मचारीलाई कार्यविवरणसहित जिम्मेवारी पत्र नदिएको तर आफूहरूले आफ्ना शाखाका काम मात्र नभई अन्य सेवामा पनि इमानदार रूपमा जिम्मेवारी निर्वाह गरेको दाबी गरिएको छ।

हाकिमको राजनीतिक धम्की !

उनीहरूले भट्टले पूर्व गृहमन्त्री रमेश लेखकको नाममा धम्की दिँदै शासन गर्ने गरेको गम्भीर आरोप पनि लगाइएको छ। साथै, महिला विकास निरीक्षकलाई जथाभावी सरुवा गरी वडा सचिव बनाइएको थप आरोपसमेत छ।

कर्मचारीहरूले मूल्यांकन सच्याई न्यायोचित ढंगले मूल्यांकन गर्न, हाकिमको पूर्वाग्रही गतिविधि रोक्न र आवश्यक कारबाही गर्न माग राखेका छन्। माग सम्बोधन नभए पालिकाबाट प्रदान हुने नियमित सेवा बन्द गर्दै अन्य प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसअघि लेखा अधिकृत धनबहादुर साउदले एकल रूपमा निवेदन दिँदै आफूले ६ वर्षदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दा पनि उपलब्धि नदिखाई अंक घटाइएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुस