बझाङको बुंगल नगरपालिका–११ बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ। अभिभावकले लामो समयदेखि चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित भएको हो।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालय २०७५ सालमा कक्षा ८ सम्म सञ्चालन गरिएको थियो। तर‚ निजी स्रोतबाट तलब दिने गरी राखिएका शिक्षकलाई पारिश्रमिक दिन नसकेपछि अहिले कक्षा ५ सम्म मात्रै पढाइ हुँदै आएको छ। उक्त विद्यालयमा दुईजना दरबन्दी र एकजना राहत शिक्षक रहेको प्रधानाध्यापक वीरबहादुर पातलीले बताए।

विद्यालयमा ५६ जना छात्रा र ४५ जना छात्र गरी १०१ जना विद्यार्थी रहेका छन्। गाउँमा पढ्ने विध्यार्थी धेरै भए पनि डेढ घण्टा पैदल हिँडेर अर्को विद्यालय जानुपर्ने बाध्यता रहेको विद्यार्थीहरुको गुनासो छ। केही वर्षदेखि अभिभावकसँग चन्दा उठाएर शिक्षकलाई तलब दिँदै आए पनि हाल चन्दा नउठेपछि विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन पातलीले बताए। यता नगरपालिकाका प्रमुख धनबहादुर विष्टले वडा नम्बर ८, ९‚ १० लगायत वडामा रहेका प्रायः विद्यालयमा शिक्षकहरुको दरबन्दी नहुँदा समस्या भएको बताउँछन्। नगरपालिकाभित्र ९१ भन्दा बढी शिक्षक दरबन्दी रिक्त रहेको उनले बताए।

प्रतिक्रिया दिनुस